एक आधुनिक सुविधा सम्पन्न ट्रमा अस्पताल कम्तिमा १० लाख जनसंख्या भएको शहरमा हुनु पर्ने विश्व स्वास्थ्य संगठनको अवधारणा सँगै नेपालमा पनि दैवि विपत्ति, प्राकृतिक प्रकोप, आकस्मिक दुर्घटना, हिंसा वा यस्तै अन्य कारणले घाईते भएका बिरामीलाई उपचार गरी सामान्य अवस्थामा फर्काउने / पुनर्स्थापना गर्ने मुख्य उद्धेश्य राखी स्थापना एवम् संचालन भएकोयस राष्ट्रिय ट्रमा सेन्टरले आज मिति २०८० मंसिर ९ गते दशौ वार्षिकोत्सवमनाई रहँदा खुशी एवं गौरवान्वित महशुस गरेको छु । यस वार्षिकोत्सवको उपलक्ष्यमा अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सकहरु, नर्सिङ्ग कर्मचारीहरु, स्वास्थ्य कर्मचारीहरु एवं अन्य कर्मचारीहरुलाई लगायत यस अस्पतालमा सेवा गरी सेवानिवृत हुनु भएका अग्रजहरुलाई हार्दिक बधाई सहित शुभकामना दिन चाहन्छु । यसैगरी यस अस्पतालको विकास एवं विस्तारमा हरेक हिसाबले सहयोग एवं योगदान गर्नुहुने सबैलाई विशेष धन्यवाद व्यक्त गर्दछु ।
स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको यस केन्द्रीय अस्पतालले काठमाडौं उपत्यकामा हुने दुर्घटनाका घाइतेको मात्र होइन ७७ जिल्लाकै बिरामीलाई सेवा दिदै आएको छ । नागरिकलाई गुणस्तरीय एवम् निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने संवैधानिक दायित्व पूरा गर्ने कार्यका लागि लक्षित समूहका विरामीहरुको उपचार, विपन्न नागरिक औषधोपचार कार्यक्रम, स्वास्थ्य बिमा कार्यक्रम, विस्तारित स्वास्थ्य सेवा कार्यक्रमहरु मार्फत सेवालाई सरलिकृत गर्दै गुणस्तरिय सेवा प्रदान गर्दै आएको छ । विशेषगरी उपचारका लागि सरकारको भर परेर आउने दूरदराजका बिरामीले यहाँ प्राप्त हुने विशेषज्ञ सेवाका कारण राहतको महसुस गर्न पाएका छन् । सेवालाई गुणस्तरीय, प्रभावकारी, प्रविधि मैत्री र सहज बनाउन अनलाईन विरामी दर्ता, अनलाई रिपोर्टिङ्ग सेवा, ई-हाजिरी, एम्बुलेन्स सेवा जस्ता सेवाको प्रयोग गरिएको छ ।
जनसंख्या वृद्धि, प्राकृतिक प्रकोपमा बढोत्तरी, विपत्ति आदि कारणहरुले हुने दुर्घटनाजन्य विरामीको चापमा हुने बृद्धिका कारण यस सेन्टरको क्षमता विस्तार गर्दै नयाँ प्रविधि सहित सेवा प्रवाह गर्न सम्बन्धित निकायले विशेष ध्यान दिन जरुरी रहेको छ । साथै नेपाल सरकारको पछिल्लो नीति अनुसार प्राथमिक ट्रमा उपचार केन्द्र सहित देशैभर विभिन्न स्थानमा ट्रमा सेन्टर तत्काल स्थापना गर्नुपर्ने आवश्यकता रहेको छ । यसरी स्थापना हुने ट्रमा उपचार केन्द्र संग समन्वय र सहकार्य गर्ने गरी राष्ट्रिय ट्रमा सेन्टरलाई ट्रमा सम्बन्धी उपचार एवं अध्ययन अनुसन्धानको लागि सेन्टर अफ एक्सिलेन्स ( Center of Excellence) का रुपमा विकास गर्न सम्बन्धीत सबैको सहयोग एवं सहकार्य हुने अपेक्षा गरेको छु ।
धन्यवाद ।